कोट पुरानै थियो…….
एक शताब्दी पुरानो होला
मेरो दिमागमा
कोटको रंग नछचल्किए पनि
कोटमा परेका मुजा र धुजाले
म भन्न सक्छु
मेरो हजुरबाको कोट पुरानै थियो ।
त्यो कोट ……….
मेरो हजुरबाको सुन्दर महलभित्र
सुत्ने कोठामा झुण्डिएको थियो
म सँधै देख्ने गर्थेँ
अनि गम खान्थेँ
कोट किन झुण्डाएको होला
पुरानो जडाउरी किन राख्या होला
भन्ने गर्थेँ ।
तर………..
त्यो याम…….
देश लथालिंग थियो
घर भताभुंग थियो
तै पनि मौनतामा एउटा सालिकझैं
मेरो हजुरबाको कोट
झुण्डिएको थियो
पुराना परम्पराको अत्तर बोकेर
युद्धकालको गन्धको बास्ना सुँघेर
अझै त्यो कोट झुण्डिएको थियो ।
झट्ट हेर्दा कोट राम्रै देखिन्थ्यो
तर कोट युगौं पुरानो थियो
धेरै घाम पानी ओताएको
थुप्रै वसन्त बिताएको
त्यो कोट सावित थियो
सारा घर जल्दा पनि
भत्किएर भग्नावशेष हुँदा पनि
कसरी रह्यो त्यो कोट ?
फगत कोट थियो
खाली थिए कोटका भित्री जेबहरु ।
आज कोट ……….
भुँइमा झरेको छ
माटो ढुङ्गा र काठका कणहरुले
कुरुप कोटलाई अझ कुरुपता थपिदिएको छ
तर पनि कोट सग्लै छ
मैले कोटलाई छामी हेरेँ
कोट थुप्रै अन्याय बोकेर
आवाराझैं भुँइमा पसारा परेको छ
कैले युद्धको हावा चल्दा
भुँइमा धुवाँ सुँघेर
कोट हल्लन्छ
कैले जातीय विभेदको आगोले जलेर
कैहिले धार्मिक ग्रन्थको आलोचना सहेर
अझै कोट मेरो हजुरबाको
घर-घडेरीमा लम्पसार छ ।
आज कोट………..
अपमानित छ, अपरिचित छ
जातीय मर्यादा गुमाएर
भाषिक सांस्कृतिक संस्कार कुहाएर
कोट हजुरबाको थातथलोमा
जीवितै सावित छ
घाम पानी ओडेर
हुरी, झरी सहेर
जन्मभूमिको माटोमै
विस्थापित छ
मेरो हजुरबाको कोट ।
0 comments:
Post a Comment