Showing posts with label CONVERSATION. Show all posts
Showing posts with label CONVERSATION. Show all posts

Wednesday, August 4, 2010

श्रवण मुकारूङ


नेपालमा साहित्य भनेर कसैले पढ्छ भने त्यो कविता नै हुन्छ । कविताको पाठक जसले छैन भन्छ त्यो प्रतिक्रियावादी हो - श्रवण मुकारूङ

श्रवण मुकारूङ
मस्तिष्क खाली छ (सधैं यसले यस्तै लेख्छ भन्नु होला) । संसदको शून्य समय हो या नागार्जुनको शून्यवाद । विरक्तिएर झर्छु बालुवाटार

श्रवण मुकारूङसँग बात मार्दै
प्रकाश थाम्सुहाङ

मस्तिष्क खाली छ (सधैं यसले यस्तै लेख्छ भन्नु होला) । संसदको शून्य समय हो या नागार्जुनको शून्यवाद । विरक्तिएर झर्छु बालुवाटार । भेट्नु छ समकालीन कविताको रथ हाँकिरहको सारथि चर्चित कवि श्रवण मुकारूङलाई । बात मार्छौं । बात यस्तो हुन्छ-

एकेडेमी के हुँदैछ हौ दाइ ?
एकेडेमी राम्रै बनाउँछ होला भन्ने लागेको छ । किनभने हिजोका अपठित र निरक्षरहरूले जुन प्रयत्न गरे त्यसले एकेडेमीलाई नै दुर्घटित बनायो । यो दुर्घटनाबाट आजका शासकहरूले सिकेको हुनुपर्छ । मैले एकदिन बैरागी दाइलाई सोधेँ - 'दाजुनेपालमा पनि बुद्धिको काम हुने ठाउँ छ ? ' उहाँले मुस्कुराउँदै भन्नुभयो - 'ठाउँ बनाउनुपर्छ ।' यसर्थ मलाई लाग्छ एकेडेमी गठन हुनसक्छ ।

लोकतान्त्रिक सरकारले साहित्यकलासंस्कृतिलाई कसरी मूल्याङ्कन गरिरहेछ ?
सांस्कृतिक क्षेत्रमा लोकतान्त्रिक सरकार गम्भीर भएको देखिँदैन । यसको प्रमुख कारण यो नेपाल भन्ने देशको संस्कृति भनेको जनजातिहरूको संस्कृति हो । त्यसैले यो देशका शासकहरू यो क्षेत्रमा मौन हुन्छन् किनकि यो देशका शासकहरू बाहुनहरू हुन् ।

देश अझै सङ्क्रमणकालमा छ । आवधिक समयमा संविधान लेखिएलाजस्तो छैन । शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छैन । यस्तो अवस्थामा कविको भूमिका के होला ?
कविले संविधान बनाउने होइन । कविले संविधान बनाऊ भन्ने मात्र हो । तर अहिले यो देश विशिष्ट सङ्क्रमणकालबाट गुज्रिरहेको बेला हो । त्यसकारण हामीले पनि आफ्नो कुरा राख्नुपर्छ । हामी भन्छौँहिजोको राजतन्त्रसँग जसरी लड्यौँअब ब्राह्मणवादसँग लड्छौँ । अबको हाम्रो भूमिका यो हुन्छ ।

हङकङलगायत प्रवासी साहित्यको गतिविधिलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
समीक्षक प्रकाश थाम्सुहाङको भनाई छ - 'केन्द्र स्थिर छैनकेन्द्रहरू परिवर्तन हुँदै जान्छ ।' मलाई पनि ठीकै लाग्यो । यसो प्रवासी साहित्य हेर्छु अहिले त बेलायत पो केन्द्र हुन खोजिरहेको देखिन्छ । तर पनि हङकङ एउटा अचम्मको ठाउँ हो नेपाली साहित्यमा । त्यहाँ नरेश सुनुवार छन्भोगेन एक्ले छन्देश सुब्बा छन् अनि हाङयुग अज्ञात भन्ने पनि छन् ।त्यसकारण हङकङेली साहित्य राम्रै होला ।

पछिल्लो समयमा निर्माण भइरहेको साहित्यिक वादहरू बारे तपाईंको धारणा के छ ?
पश्चिमाहरूले सानो कुरालाई पनि अनुसन्धान र खोज गरेर त्यसलाई वाद बनाउँछन् । उदाहरण लिऊ सिग्मन्ड फ्रायड । फ्रायडलाई उसको स्वास्नीले छोडेपछि यौनमनोविज्ञानमा चिन्तन गर्यो । तर नेपालमा अहिले आइरहेको वादहरूको कुनै अर्थ छैन । छ भने तेस्रो आयामपछि आएको सृजनशील अराजकताको अर्थ छ । अरूको त्यति अर्थ देख्दिनँ ।

केही अघि नेपाल साप्ताहिकले भूपि र हरिभक्त कटुवालपछिको प्रतिनिधि कविको रूपमा तपाईंलाई प्रस्तुत गरेको थियो । यसले हामी एभरेस्ट साप्ताहिक टिमलाई गौरवान्वित बनायो । तपाईंलाई कस्तो अनुभूति भइरहेछ ?
मलाई लाग्छ कविताबाट आन्दोलन गर्न सकिन्छ र त्यो निश्चितै रूपमा मैले गरेको हुँ । तर समग्र देश र राष्ट्रलाई आन्दोलित गराउने स्रष्टाहरू धेरै छन् । पञ्चायतकालमा मातेको मान्छेको भाषण भनेर कुनै एउटा कविले लेख्यो । तर समग्रमा हेर्दा ६२-६२ सालको जनआन्दोलनको प्रतीकको रूपमा कवि श्रवण मुकारूङलाई पनि लिँदा रहेछन् । तर मलाई थाहा थिएन । नेपाल साप्ताहिकले लेख्नुमा कुनै अभिप्राय हुन सक्छ । तर मलाई केही थाहा छैन ।

समकालीन नेपाली कविताको अवस्था कस्तो छ रु सर्वाधिक लेखिने विधा भएर पनि पाठकहरू छैनन् भनिन्छ नि ?
नेपालमा साहित्य भनेर कसैले पढ्छ भने त्यो कविता नै हुन्छ । कविताको पाठक जसले छैन भन्छ त्यो प्रतिक्रियावादी हो । अँ समकालीन नेपाली कविताको अवस्था अहिले एकदमै सुन्दर छ किनभने अहिलेको कविताले सीमान्तकृत र उपेक्षितहरूको आवाजलाई उठाइरहेको छ । तर यहाँको शासकहरूले अहिलेको कविताहरूलाई सम्बोधन गर्ने आँट गरेको छैन ।

तपाईंबाट धेरै अपेक्षा भइरहेछआगामी सृजना अथवा कृति कहिले आउला ?
कुनै दिन दिन आउँछ त्यो दिन आउलापर्खेर बस्नुस् ।

यति बात मारिसक्दा निकै बोतल रित्तिएछन् । खै वार्ता कस्तो भयो रु मिलाएर बुझिदिनुहोला ।

Tuesday, July 13, 2010

‘भूपाली’ भारतीय सुरक्षा निकायको ‘कोड वर्ड’ हो

भक्त घिमिरे अर्थात् “वि.पि. काश्यप” भूटानी साहित्य तथा पत्रकारिता जगतमा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली भाषामा प्रयोग गर्ने साहित्यमा जताततै ‘भूपाली साहित्य’ भनेर लेखिरहँदा वहाँ त्यसलाई पटक्कै स्वीकार गर्ने पक्षमा देखिनु भएन । ‘भूपाली’ भूटानी साहित्य नभएर भारतीय सुरक्षा निकायले हामीलाई संकेत गर्न प्रयोग गर्ने विशेष शब्द (कोड वर्ड) हो भन्नु हुन्छ । साहित्य संसारको जुनसुकै कुनामा गए पनि साहित्य परिवर्तन नहुने उदाहरण समेत वहाँको छ । सन् १९९० बाट साहित्य पत्रकारिता क्षेत्रमा प्रवेश गरे पनि सन् २००० बाट चर्चाको शिखरतर्फ लाग्नु भएका घिमिरे इतिहासको एक पात्र बन्ने नै छन् । सन् २००० को नोभेम्बरमा प्रकाशित ‘सन्देश साप्ताहिक’का प्रधान सम्पादक रहेका भक्त घिमिरेसँग प्रतीतका सम्पादक दधिराम अन्तिमले गर्नुभएको छोटो वार्तालाप प्रस्तुत गरिएको छ -

यहाँलाई साहित्य जगतमा कलम चलाउने प्रेरणा कसबाट प्राप्त भयो ? कहिले ?
- यस प्रश्नको उत्तर दिन म ठ्याक्क समयविन्दु भेट्न सक्दिनँ । म यसरी औंल्याउन लायक साहित्यकार पनि होइन जस्तो लाग्छ मलाई । यद्यपि, सन्दर्भ उठेपछि केही भन्नै पर्ने भएकोले पर्गेल्न प्रयास गर्दछु । सन् १९८० को दशकमा हुनुपर्छ, म प्राथमिक तहमा पढ्दा भारतीय साहित्यकार पारसमणि प्रधानको
कवि कविता होस्
कविता कवि होस्
कविता तब पो हुन्छ
शब्द थुपारिकन के हुन्छ ?
भाव भए पो हुन्छ

भन्ने कवितांशले मलाई निक्कै प्रभाव पारेको थियो । त्यसपछि लगातार मेरो विचार छिप्पिँदै गयो, साहित्यतर्फ लगाव बढ्दै गयो ।

आफैंले रुचाउनु भएको आफ्नो एक लेख वा कृति ?
- आफ्ना सृजनाहरु सबै प्यारा लाग्छन्, सन्तानजस्तै । तर छान्नु वा चुन्नु पर्ने घडी आए मैले पत्रकारितामा अन्तर्राष्ट्रिय राजनीति र साहित्यको ‘बीट’ लिएर जाने अठोट गरेकोले राजनीतिक लेखहरु नै बढी मनपर्छ । आफ्नै कुरा गर्दा चाहिँ ‘इतिहासले भुलेको क्षणमा अनुहार र जातको सञ्जालभित्र भूटान’ भन्ने लेखलाई लिन चाहन्छु । यो लेख सन् २००२ को मध्येतिर नेपालको राष्ट्रिय मासिक ‘राजदूत’ले प्रमुखता दिएर छापेको थियो । यसकै हाराहारीमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भूटानी शरणार्थीहरु भूटान फर्किए त्यहाँको ‘डेमोग्राफिक इम्व्यालेन्स’ हुन्छ भनेपछि प्रतिक्रियास्वरुप लेखेको ‘भूटानीहरु देश जान्छन्, मुखर्जीको ‘डेमोग्राफी’ कसरी जोगाउने’ भन्ने लेख अत्यधिक मन पर्छ । यो लेखलाई भारतको गुवाहाटीबाट निस्कने नेपाली पत्रिका ‘सपरिवार’ मासिकले छापेको थियो र यसै लेख वापत मैले सन् २००७ को उत्तर-पूर्वाञ्चलस्तरीय उत्कृष्ट निबन्धको रुपमा ‘खगेश्वर सड्कीया स्मृति पुरस्कार’ पनि पाएको थिएँ ।

भूपाली साहित्यलाई एकै शब्दमा कसरी समेट्नु हुन्छ ?
-पहिलो कुरा त म हाम्रो साहित्यलाई ‘भूपाली’ भन्न रुचाउँदिनँ । ‘भूपाली’ शब्द भारतीय सुरक्षा निकायलाई संकेत गर्न प्रयोग गर्ने एउटा विशेष (कोड वर्ड) हो । हामी भूपाली होइनौं, भूटानी हौं । हाम्रो साहित्य नेपाली हो । अंग्रेजहरुको साहित्य अमेरिका, अष्ट्रेलियालगायत विश्वभरिका विभिन्न देशमा पुगेर पनि अंग्रेजी नै रहन सक्षम छ । फ्रेञ्च भाषा र साहित्य फ्रान्सभन्दा बाहिरिएका देशहरूमा सोही नाम र रुपमा प्रयोग भइरहेको छ । तिब्बतको ‘छ्चोके’ भाषा-साहित्य आएर ‘ड्रक्पा साहित्य’ बनेको छ । त्यसो भए हामीचाहिँ किन हाम्रो भाषा-साहित्यमा नयाँनयाँ टाउको र पुच्छर गाँस्तै जाने ।

तेस्रो मुलुक पुनर्वासपछि साहित्यको अवस्था कस्तो होला ?
- यो मैले भविष्यवाणी गर्ने विषय होइन । तर, पुनर्वासअर्न्तर्गत तेस्रो मुलुक गएकाहरुमा आफ्नो जाति, भाषा र सँस्कृतिप्रति मोह बढ्ने कुराचाहिँ निश्चित छ । युवाहरुबाट लगन र लगानी दुवै जुट्यो भने अहिलेभन्दा पुनर्वासपछि हाम्रो साहित्य अझ फस्टाएर जानेछ । यद्यपिः चिन्ताको विषय के हो भने त्यो साहित्य प्रयोगविहिन, कल्पनाशीलमात्र हुने सम्भावना बढी छ । त्यसप्रति स्रष्टा र सर्जकहरु आजैदेखि सचेत हुनु जरुरी छ ।

प्रसंग मोडौं, तपाईको विचारमा पत्रकारिता के हो ?
- पत्रकारिता भनेको संसारलाई देखाइएको ऐना हो । चौदिशा फर्किएको ऐना हेरेर कुनै पनि मान्छेले आफू स्वयं र संसारलाई देख्न सक्दछ ।

पत्रकारितामा तपाईको प्रवेश कहिलेदेखि भयो ?
- अनौपचारिक ९० को दशकमा अनि सन् २००० देखि औपचारिक रुपमा ।

कस्ता चुनौती आफ्नो कार्यक्षेत्रमा विशेष अनुभव गर्नुभयो ?
- पत्र-पत्रिका र सञ्चारको महत्व नबुझेका मान्छेहरुको भीडमा बौद्धिक चेतनाको कमी, आर्थिक तथा प्रशासनिक, मानसिक तथा भौतिक आक्रमणसमेत सबै किसिमका चुनौती र बाधाहरु पार गर्दै आएको छ हाम्रो पत्रकारिताले । म त्यसको सानो अङ्ग मात्र हुँ ।

हाल पत्रकारिता क्षेत्रलाई कहाँ पाउनुहुन्छ ?
- भूटानभित्रको पत्रकारिता स्वतन्त्र भएकै छैन, निर्वासनमा पनि विभिन्न कारण पत्रकारिताले मौलाउने अवसर पाएको छैन । सुसुप्त अवस्थामै छ, शैशवकालमै छ, हाम्रो पत्रकारिता । यद्यपि, सबै कुरा छोडेर यस क्षेत्रमा लागेका हाम्रा केही युवामित्रहरुको परिश्रम हेर्दा भविष्य उज्यालै हुने आशा गर्न सकिन्छ ।

तपाईको विचारमा भूटानी पत्रकारहरुले नसमेटेको विषय ?
- भूटानी पत्रकारहरुको नजर वा पहुँच नपुगेको विषय भनेको भूटानको ऐतिहासिक परिप्रेक्ष्यमा हामीलाई कसरी प्रस्तुत गरिएको छ, विभिन्न लेखकहरुले विगतमा के लेखे र आज के लेख्दैछन्, हाम्रो जातीय अवधारणा र प्रजातन्त्रप्राप्तिको आन्दोलनबीचमा के भिन्नता छ ? वर्तमान हामीप्रति विभिन्न देशका विचारकहरुमध्ये धारणा के छ, विश्वका राजनीतिक वा सामाजिक विश्लेषकहरुले हाम्राबारे के-के लेख्दैछन् भन्ने कुरा हो ।

अन्तमा, नवागन्तुक साहित्यकर्मी र पत्रकारहरुलाई सुझाव ?
- साहित्यकारहरुले सुतेको साहित्य, मरेको साहित्य नलेखेर जिउँदो, चलायमान, झर्झाउँदो साहित्य लेखुन् । यथार्थ र प्रयोजनीय साहित्य लेखुन् । विलना, हिक्का र रोदनमात्र नभई जीवन्ततापूर्ण साहित्य लेखुन् अनि पत्रकारहरुले हाम्रो समाजको अन्तरचेतनालाई खोतलेर सीप, सृजना र नवचेतनाको मुहान फुट्ने हिसाबले आफ्नो क्षेत्रलाई अघि बढाउन्, शुभकामनासहित यही सुझाव छ मेरो । पत्रकारहरुको त्यस दायित्वपथमा म स्वयं पनि एउटा अङ्ग हुँ, माथि नै भनिसकेको छु ।

साभारः प्रतीत


सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
सालबिसौना © 2010 Powered by *HARIT THAKURI*