Laxmi P. Devkota,Poem,नेपाली
'के हो अहो ! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।'
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'
'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'
'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।'
..........................................................................................................................................................................
यात्री
Laxmi P. Devkota,Poem,नेपाली
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छानोछ, इन्द्रियहरुका द्वार !
नसा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा खोजिहिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा, ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन, चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको, छहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।
..........................................................................................................................................................................
झरना
Laxmi P. Devkota,Poem,नेपाली
पहाडको शिखरबाट
देखेँ झरेको जल ।
मेरो मनमा बत्ती बले
हजारौँ झलमल ॥
त्यो पानीको झरनामा
शक्ति कति छ लुकेको ।
देख्नसके कति त्यसमा
बत्ती बिजुली बलेको ॥
तर हाय त्यसै नै पग्ली
पानी व्यर्थ बहन्छ ॥
के हामी मानिसका
हृदयका गिरिमा
छैनन् यस्तै अटूट
निर्मल जलका झरना ?
हामी भित्र भए यदि यस्ता
सुन्दर झरना हजार !
हाय छ कस्तो अपशोच !
अझ छ अँध्यारो संसार !
..........................................................................................................................................................................
जिन्दगीको मौसम
Laxmi P. Devkota,Song,नेपाली
जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत
बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद
अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयो
खूब फुल्दछ दिलको माटो वर्षाले गान सुनायो
इन्द्रिय गोरू शरीर हलोमा बाँधी बाँधी खन खन खेत
बिउ छन् जगमा कर्म हजारौं रोप फुलाऊ लह लह खेत
जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाऊ
पर्खन्न कसैलाई काल निठुरी हाय यसै ननिदाऊ
रोप रोप सब बिउहरू अहिले; अन्न फलोस् पछिलाई
नरुनु पछाडि आउँछन् जहिले हिउँद कडा तिमीलाई
..............................................................................................................................................................
Tuesday, July 20, 2010
laxmi prasad devkota ka rachana haru
Labels:
NEPALI POEMS
Subscribe to:
Post Comments (Atom)
सालबिसौनामा तपाईहरुलाइ हार्दिक स्वागत छ
0 comments:
Post a Comment