नेपालमा साहित्य भनेर कसैले पढ्छ भने त्यो कविता नै हुन्छ । कविताको पाठक जसले छैन भन्छ त्यो प्रतिक्रियावादी हो - श्रवण मुकारूङ
![श्रवण मुकारूङ](http://www.bagaicha.com/interviews/interview/l_23.jpg)
मस्तिष्क खाली छ (सधैं यसले यस्तै लेख्छ भन्नु होला) । संसदको शून्य समय हो या नागार्जुनको शून्यवाद । विरक्तिएर झर्छु बालुवाटार
श्रवण मुकारूङसँग बात मार्दै
प्रकाश थाम्सुहाङ
मस्तिष्क खाली छ (सधैं यसले यस्तै लेख्छ भन्नु होला) । संसदको शून्य समय हो या नागार्जुनको शून्यवाद । विरक्तिएर झर्छु बालुवाटार । भेट्नु छ समकालीन कविताको रथ हाँकिरहको सारथि चर्चित कवि श्रवण मुकारूङलाई । बात मार्छौं । बात यस्तो हुन्छ-
एकेडेमी के हुँदैछ हौ दाइ ?
- एकेडेमी राम्रै बनाउँछ होला भन्ने लागेको छ । किनभने हिजोका अपठित र निरक्षरहरूले जुन प्रयत्न गरे त्यसले एकेडेमीलाई नै दुर्घटित बनायो । यो दुर्घटनाबाट आजका शासकहरूले सिकेको हुनुपर्छ । मैले एकदिन बैरागी दाइलाई सोधेँ - 'दाजु, नेपालमा पनि बुद्धिको काम हुने ठाउँ छ ? ' उहाँले मुस्कुराउँदै भन्नुभयो - 'ठाउँ बनाउनुपर्छ ।' यसर्थ मलाई लाग्छ एकेडेमी गठन हुनसक्छ ।
लोकतान्त्रिक सरकारले साहित्य, कला, संस्कृतिलाई कसरी मूल्याङ्कन गरिरहेछ ?
- सांस्कृतिक क्षेत्रमा लोकतान्त्रिक सरकार गम्भीर भएको देखिँदैन । यसको प्रमुख कारण यो नेपाल भन्ने देशको संस्कृति भनेको जनजातिहरूको संस्कृति हो । त्यसैले यो देशका शासकहरू यो क्षेत्रमा मौन हुन्छन् किनकि यो देशका शासकहरू बाहुनहरू हुन् ।
देश अझै सङ्क्रमणकालमा छ । आवधिक समयमा संविधान लेखिएलाजस्तो छैन । शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छैन । यस्तो अवस्थामा कविको भूमिका के होला ?
- कविले संविधान बनाउने होइन । कविले संविधान बनाऊ भन्ने मात्र हो । तर अहिले यो देश विशिष्ट सङ्क्रमणकालबाट गुज्रिरहेको बेला हो । त्यसकारण हामीले पनि आफ्नो कुरा राख्नुपर्छ । हामी भन्छौँ, हिजोको राजतन्त्रसँग जसरी लड्यौँ, अब ब्राह्मणवादसँग लड्छौँ । अबको हाम्रो भूमिका यो हुन्छ ।
हङकङलगायत प्रवासी साहित्यको गतिविधिलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
- समीक्षक प्रकाश थाम्सुहाङको भनाई छ - 'केन्द्र स्थिर छैन, केन्द्रहरू परिवर्तन हुँदै जान्छ ।' मलाई पनि ठीकै लाग्यो । यसो प्रवासी साहित्य हेर्छु अहिले त बेलायत पो केन्द्र हुन खोजिरहेको देखिन्छ । तर पनि हङकङ एउटा अचम्मको ठाउँ हो नेपाली साहित्यमा । त्यहाँ नरेश सुनुवार छन्, भोगेन एक्ले छन्, देश सुब्बा छन् अनि हाङयुग अज्ञात भन्ने पनि छन् ।त्यसकारण हङकङेली साहित्य राम्रै होला ।
पछिल्लो समयमा निर्माण भइरहेको साहित्यिक वादहरू बारे तपाईंको धारणा के छ ?
- पश्चिमाहरूले सानो कुरालाई पनि अनुसन्धान र खोज गरेर त्यसलाई वाद बनाउँछन् । उदाहरण लिऊ सिग्मन्ड फ्रायड । फ्रायडलाई उसको स्वास्नीले छोडेपछि यौनमनोविज्ञानमा चिन्तन गर्यो । तर नेपालमा अहिले आइरहेको वादहरूको कुनै अर्थ छैन । छ भने तेस्रो आयामपछि आएको सृजनशील अराजकताको अर्थ छ । अरूको त्यति अर्थ देख्दिनँ ।
केही अघि नेपाल साप्ताहिकले भूपि र हरिभक्त कटुवालपछिको प्रतिनिधि कविको रूपमा तपाईंलाई प्रस्तुत गरेको थियो । यसले हामी एभरेस्ट साप्ताहिक टिमलाई गौरवान्वित बनायो । तपाईंलाई कस्तो अनुभूति भइरहेछ ?
- मलाई लाग्छ कविताबाट आन्दोलन गर्न सकिन्छ र त्यो निश्चितै रूपमा मैले गरेको हुँ । तर समग्र देश र राष्ट्रलाई आन्दोलित गराउने स्रष्टाहरू धेरै छन् । पञ्चायतकालमा मातेको मान्छेको भाषण भनेर कुनै एउटा कविले लेख्यो । तर समग्रमा हेर्दा ६२-६२ सालको जनआन्दोलनको प्रतीकको रूपमा कवि श्रवण मुकारूङलाई पनि लिँदा रहेछन् । तर मलाई थाहा थिएन । नेपाल साप्ताहिकले लेख्नुमा कुनै अभिप्राय हुन सक्छ । तर मलाई केही थाहा छैन ।
समकालीन नेपाली कविताको अवस्था कस्तो छ रु सर्वाधिक लेखिने विधा भएर पनि पाठकहरू छैनन् भनिन्छ नि ?
- नेपालमा साहित्य भनेर कसैले पढ्छ भने त्यो कविता नै हुन्छ । कविताको पाठक जसले छैन भन्छ त्यो प्रतिक्रियावादी हो । अँ समकालीन नेपाली कविताको अवस्था अहिले एकदमै सुन्दर छ किनभने अहिलेको कविताले सीमान्तकृत र उपेक्षितहरूको आवाजलाई उठाइरहेको छ । तर यहाँको शासकहरूले अहिलेको कविताहरूलाई सम्बोधन गर्ने आँट गरेको छैन ।
तपाईंबाट धेरै अपेक्षा भइरहेछ, आगामी सृजना अथवा कृति कहिले आउला ?
- कुनै दिन दिन आउँछ त्यो दिन आउला, पर्खेर बस्नुस् ।
यति बात मारिसक्दा निकै बोतल रित्तिएछन् । खै वार्ता कस्तो भयो रु मिलाएर बुझिदिनुहोला ।
0 comments:
Post a Comment